रक्तदान - नेपाली कविता
आफैँ नष्ट भएर जान्छ छिनमा आफैँ पुनः बन्दछ
दुःखी मुत्यु हुने घडी रगतले केही अझै गन्दछ ।मौका हाे दिनु पर्छ मानव भई सम्बन्ध गाढा हुन
बच्ने जीवन रक्तदान भरमा हामी नगर्ने किन ? ।।
याे बग्दैन नदी पवित्र जलमा पाक्दैन भाँडो भरी
पर्दैनन् असिना सरी गगनका फल्दैन ठूला घरी ।
रोगीको अझ आयु बढ्छ जनता जागौँ त्यसैले दिन
बच्ने जीवन रक्तदान भरमा हामी नगर्ने किन ? ।।
मान्छे पुण्य मुहान धर्म भरको त्याे भक्ति भन्दा बडा
राम्रो मानिस बन्न आज सबले यी हात पारौँ खडा ।
रोगीले मनकामना सफलता पार्नेछ केही छिन
बच्ने जीवन रक्तदान भरमा हामी नगर्ने किन ? ।।
गर्दैनन् जन रक्तदान डरले मिथ्या कुरामा परी
हामी स्वस्थ भएर गाउँ घरका पारौँ निरोगी बढी ।
हाम्राे स्वार्थ छ रक्तदान दिनुमा रोगी भएमा लिन
बच्ने जीवन रक्तदान भरमा हामी नगर्ने किन ? ।।
धेरै तागत प्राप्त हुन्छ यसमा छैनन् अनुष्ठानमा
नाप्दा पाउँछ शक्तिको सफलता ठूला बडा दानमा ।
भोग्नै पर्छ अवश्य जीवन हुँदा रोगी हुने ती दिन
बच्ने जीवन रक्तदान भरमा हामी नगर्ने किन ? ।।
----
Comments
Post a Comment