आमाको काख - नेपाली कविता
रोप्ने ती अप्सराले छुपु छुपु सुनको पार्न बाला तयारी खेती गर्दा हिलाम्मे कृषक जन हुँदा हर्ष हाम्री पियारी । आकाशे शुद्ध धारो जल अमृत अहो! झर्र झर्दा धुरीमा आमाको काख राम्रो सरिफ जमिनले दिन्छ माना मुरीमा ।। सानो बच्चा हिलोमा विचरण यसरी गर्छ हाम्रो भनेर भाक्छन् कोही असारे जलपथ शिरको पूर्ण प्यासी बनेर । त्यो छ्यापाछ्याप लेदो मनुज सफलता मान्छ वर्षा झरीमा आमाको काख राम्रो सरिफ जमिनले दिन्छ माना मुरीमा ।। वर्षाको स्वर्ग खेती कृषक शयनको स्वर्ण तन्ना कहन्छ ठूलो चट्याङ वर्षा कठिन सफलता स्वर्ग भन्दै सहन्छ । बढ्छन् ढल्छन् लगानी भनिकन मनले रोक्छ जो आतुरीमा आमाको काख राम्रो सरिफ जमिनले दिन्छ माना मुरीमा ।। आकाशे खेत बारी अथक शिखरका स्रोत पानी ...